Sunday, September 16, 2018

कोठा नं. ५

आर्जितलाई आज बिहानैदेखि नै छटपटी भइरहेको थियो । यो एक घन्टामा कति गिलास पानी भ्याइसक्यो, हिसाबकिताब नै छैन । छिनछिनमा फोन हेथ्र्यो, अस्पतालको ग्यालरीमा खै के चहार्दै हिड्थ्यो । र छिनछिनमा उसका आँखा त्यही कोठा नं. ५ मा गएर अड्किन्थे ।

समितालाई त्यस कोठाभित्र लगेको त एक घन्टा मात्रै भएको थियो । तर, उसलाई लाग्थ्यो जुनी नै बितिसक्यो कि । हस्याङफस्याङ गर्दै नर्सहरू यताउता गरेको हेथ्र्यो । बस टोलाउँथ्यो । सोध्न खोज्थ्यो । के भयो भन्न खोज्थ्यो । तर, नर्सहरूले ‘सर, हजुर बाहिर बस्दै गर्नुस्’ भनेर टारी दिन्थे ।
केही मिनेटको अन्तरालमा नर्सले भित्रैबाट औषधिको लिस्ट थमाइदिन्थिन् । अनि, ऊ फार्मेसीबाहिर औषधि लिने लामो लाममा पालो कुथ्र्यो । र, चिटचिट पसिना बगाउँदै औषधि बोकेर उही कोठा नं. ५ तर्फ दगुथ्र्यो । यसरी पर्खिंदापर्खिंदै, दगुर्दादगुर्दै दुई, तीन, चार घन्टा व्यतित भए ।

अँध्यारो नि भैसकेछ । समितालाई अप्रेसन थिएटरभित्र लगेको १२औँं घन्टामा बल्ल नर्सले बाहिर निस्केर भनिन्, ‘हजुरहरूलाई बधाई छ, पेसियन्ट खतराभन्दा बाहिर हुनुहुन्छ । अब अत्तालिनुपर्दैन ।’ आर्जितको रोकिइसकेको मुटु बल्ल धड्किएजस्तो भयो ।

‘समितालाई हेर्न सकिन्छ ?’ उसले अप्ठ्यारोे मानेरै सोध्यो । नर्सले फेरि रोक्छिन् कि भन्ने डरले उसलाई सार्है गाह्रो भएको थियोे । ‘एकैछिनमा वहाँलाई पस्ट–अपमा ल्याउँछौँ । अनि, तपाईंले भेट्न पाइहाल्नुहुन्छ नि ।’ निन्याउरो भइरहेको आर्जित झन्डै खुसीले उफ्रिएन ।

आफ्नी प्रियलाई यति गाह्रो पछि हेर्न पाउने खुसीले मात्रै उसलाई फुरुंग बना’को थियो । ‘समितालाई होस् त आएको छैन होला तर, मलाई देखेपछि उसलाई यत्तिकै सन्चो भइहाल्छ’ आर्जितले मनमनै सोच्यो । त्यसमा विश्वस्त नै थियो । सोच्दा सोच्दै अलिकति रोमाञ्चित पनि भयो ।

००००

‘ओइ आर्जित, तिमीलाई देखेर त म आजित नै भइसकेँ । कतिचोटी भन्नु के मेरो एनाटोमीको किताब ल्याइदेऊ । भोलि मेरो नि टेस्ट छ, होइन !’ आर्जितको मुखमा रोटी कोचार्दै समिताले कराइन् । उनी आर्जितलाई आजित भन्थिन् । ऊ फिस्स हाँस्दै रोटी चपाइरह्यो । केही बोलेन । दुवैजना टिचिङ हस्पिटलको जर्नल वार्डबाट भरखर फर्किएका थिए, क्यान्टिनमा ।

सिनिअर डा.तीर्थसँगको १० बजेको राउन्डमा भर्ना भएका पेसिएन्टहरूको किड्नीको हिस्ट्रीबारे टिपोट गरेका थिए, दुवैले । ११ बजेदेखि कक्षा सुरु हुन्थ्यो । र, यहीबीच समय मिलाएर खाना नि खानुपथ्र्यो । आर्जित केही नबोलेपछि समिताको पारो झन तात्यो ।

आफ्नो रिस पोखेर क्यान्टिनबाट निस्किइन्, खाना नि नखाएरै । आर्जितले फेरि आज किताब ल्याउन बिर्सिएको थियो । सामिता हिँडेपछि उसले पनि अर्को गास मुखमा हालेन । लुखुरलुखुर उनकै पछिपछि हिँड्यो ।

डा.तीर्थ ग्यालरीतिर आएको देखेपछि आर्जितको एकाग्रता भंग भयो । पुरानो दृश्य त्यसै ओझेल प¥यो । दुवै हातले आँखा मिचमाच गरेर कपाल मिलायो । डा.तीर्थ नजिकै पुग्दा खुसीका आँसु झन्डै झरेनन् । डाक्टरको खुट्टा नै ढोग्यो । ‘लौ, के गरेको बाबु तिमीले ?’ डा.तीर्थले अलि पछाडि सर्दै भन्यो ।

‘डाक्टर भगवान हो भन्थे, हजुर त्यसै भएर आउनुभयो, आज । हजुर नभएको भए अहिलेसम्म के भइसक्थ्यो । म कल्पना नि गर्न सक्दिन्’ धेरै बेरदेखि रोकेको आँसु खोलाको बाँध फुटेजसरी फुट्यो र भरर झ-यो ।

‘पिर गर्नुपर्दैन, आर्जित । समिता अहिले खतराभन्दा बाहिर छिन् । समितालाई यस्तो रेअर किसिमको किड्नी डिजिज लाग्ला भनेर कसले सोचेको थ्यो होला र ! ह्वेन आई कन्सल्टेड विथ माई प्रोफेसर्स फ्रम द हावर्ड मेडिकल स्कुल दे वेअर सक्ड लाइक एनिथिङ टू । सी ह्याज अ रेअर जेनेटिक डिस्अर्डर अफ द किड्नी ह्विच इज हार्ड्ली क्युरेबल ।’

००००

‘हामी कहिले बिहे गर्ने भयौँ, समिता ?’ आर्जितले कोकको चुस्की लिँदै सोध्यो । पसिनाले निथ्रुक्क भएकी समिता केही नबोली घटघट कोक पिउन थालिन् । बोत्तल रित्तिनै लाग्दा बल्ल लामो सास फेरिन् । ‘तिमी मलाई हरेक कुरामा कति आजित पारिराख्छौ के आर्जित ? गरम्ला नि बिस्तारै । टेक अ चिलपिल म्यान’ समिता फुसफुसाइन् ।

उनी आर्जितलाई आजित भन्थिन् । र, उसलाई आजित बनाउन पनि कुनै कसर बाँकी छोड्थिनन् । ‘भोलि हाम्रो ग्राजुएसन डे । वी गोटा डिसाइड नाउ समिता । आई ह्याभ अ ह्युज फेम्ली प्रेसर । आई कान्ट स्टेन्ड वियोन्ड दिस एन्ड मोस्ट इम्पोटेन्टली, आई लभ यु’ आर्जितले एकै सासमा सबै कुरा ओकल्यो । तर, समिता टस न मस भइन् । चुपचाप कोकको बोतल मुखमा लगाइन् । र, त्यो कोकाको अन्तिम बुँद नि भ्याइन् । आर्जित एकहोरो हेरिरह्यो ।

यतिवेला पनि आर्जितले बोल्न खोज्यो । तर, बोल्न सकेन । एकहोरो समितालाई नियाली रह्यो । पस्ट–अप रुमको बेडमा सुतिरहेकी समितालाई देख्नासाथ नै आर्जितको मुटुले ढुकढुक गर्न छोडेको थियो । अस्पताल आएदेखि यो हजारौँपटक थियो होला, आर्जितलाई मुटुले साथ नदिएको । पस्ट–अपमा नल्याउँदासम्म नदेखेर उसको मन कमजोर भएको थियो, अहिले हरेकपटक देख्दा अझ बढी कमजोर हुँदैथ्नयो ।

आर्जितले घडी हे-यो । समितालाई होश आउने वेला भइसकेको थियो । ‘कुनै वेला नि उठिछिन् होला’ भन्ने सोचेर कुरी राखेको थियो । त्यसै वेला कोही आएको जस्तो पदचाप सुन्यो । पछाडि फर्केर हेर्दा डा.तीर्थ रहेछन् । डा.तीर्थकी पनि त प्रिय विद्यार्थी बनिरहिन्, समिता, सधैँ । पढाइ मात्रै होइन, हरेक चिजमा अब्बल, मृदुभाषी र साह्रै ज्ञानी जो थिइन् ।

‘सर, मैले हाम्रो देशमा रहेका विभिन्न रोगसँग लड्नलाई नै डाक्टरी पढेकी हुँ । हजुरले मलाई राम्रोसँग पढ्न जहिल्यै सहयोग गर्नुपर्छ है’, एमबिबिएस पढ्न भर्खर सुरु गरेकी एउटी फुच्चीको यस्तो कुरा सुन्दा दंग परेका थिए, डा.तीर्थ ।

त्यसपछि एमडी आफ्नै सुपरभिजनमा गराएर किड्नी विशेषज्ञ बनाउन कुनै कमी राखेका थिएनन् पनि । विधिको विडम्बना नि कस्तो ! त्यही समिता अरूको किड्नीको उपचार गर्दागर्दै किड्नीको नै असाध्यै ठूलो रोगबाट पीडित बनिन् । पीडित पनि यति कि अहिले उनको जीवन नै दोसाँधमा छ ।

००००

बिहेको पर्सिपल्ट नै हस्पिटलको डिउटी भ्याउन तयार भएका थिए, आर्जित र समिता । बिहेमा आएका पाहुना आमाको जिम्मा लगाएर बिहानै निस्केका थिए । त्यसयताका दिन, महिना र वर्ष कसरी बिते पत्तै पाएनन्, उनीहरूले । यति व्यस्त थिए कि घरबाट आउँदा र राति फर्किंदासम्मको दिनचर्याका बारेमा ब्रेकफास्ट टेबुलमै छलफल गर्थे । दुवैजना आफ्नो विशेषज्ञताले ख्याति कमाइरहेका थिए ।

काठमाडौँ मेडिकल कलेजको नेफ्रोलोजी विभागको जिम्मा हालसाल नै समिताले पाएकी थिइन् । र, इन्डोक्राइनोलोजी विभागको हेड त आर्जित अलि अगाडि नै भइसकेको थियो । व्यस्तता दिनदिनै बढ्दै थियो र बढ्ने क्रममा थिए, सुनौला सपना ।जुन प्रेमिल जोडीले देखेका थिए, सँगै कलेज पढ्दादेखि नै ।

एक दिन घर फर्किंदै गर्दा कुन्नी के सोचेर हो, समिता बोलिन्, ‘मलाई तीर्थ सरजस्तै बन्नु छ, आजित । एकदमै फ्ललेस ।’ आर्जित चुपचाप हेरि मात्रै रह्यो । केही बोलेन । फेरि बडो अनुग्रह गर्दै समिताले सोधिन्, ‘डू यू थिन्क आई क्यान बी लाइक द्याट ?’

पुलुक्क समितालाई फर्केर हे¥यो । र, काँधमा चिउँडो अड्याएर कानेखुसी शैलीमा बोल्यो, ‘यू आर द बेस्ट स्विटहर्ट एन्ड यू विल बी द बेस्ट अल्वेज ।’अहिले पस्ट–अप बेडमा समिता अक्सिजन मास्कको सहयोगमा पूरै शरीर हल्लिने गरी सास फेर्दै थिइन् ।

दाहिने छेउमा उनै डा.तीर्थ थिए, चुपचाप । बायाँतिर आर्जित । समिताको अनुहार दायाँतिर ढल्किएको थियो । समिताले बिस्तारै आँखा खोलिन् । डा.तीर्थको अनुहार खुसीले उज्यालियो । बिस्तारै बायाँतिर टाउको घुमाइन् । पुलुक्क आर्जितलाई हेरिन् । ऊ पनि मुस्कुरायो । र, क्यानुला रोपिएको हातमा बिस्तारै थपथपायो । समिताले डा.तीर्थतिर टाउको घुमाइन् ।

र, यतिवेला आर्जितलाई समिताले उही प्रश्न सोधेजस्तो लाग्यो, ‘डू यू थिन्क आई क्यान बी लाइक द्याट ?’आर्जितको बोलि फुटेन । तुरुक्क आँशु चुहिए ।

                                      **************************************
प्रकाशित : http://www.nayapatrikadaily.com/2018/07/07/69291/
मिति : २३ असार २०७५ 


0 comments:

Post a Comment